धनकुटामा हाई भोल्टेज विद्युत्का कारण १ जनाको मृत्यु, १५ घाइते, गाउँभरिकै मोबाइल र टिभी जले

घाइते भएकामध्ये ८ जनाको अवस्था गम्भीर

धनकुटामा सिंगै बस्तीका पुरै घरमा करेन्ट लागेपछि एक जनाको मृत्यु हुनुका साथै १५ जना गम्भीर घाइते भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका ४ चानुवास्थित सिङ्गो बस्तीमा शनिबार साँझ हाई भोल्टेज विद्युत् प्रवाह भएपछि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर घाइते हुने १५ जनामध्ये ८ जनाको अवस्था गम्भीर छ । मृत्यु हुने महालक्ष्मी नगरपालिका ४ भुटडाँडाका ५३ वर्षीय चन्द्रबहादुर कार्की हुन ।

करेन्ट लागेर घाइते हुनेहरूमा नेवार गाउँका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमी, लीलादेवी भण्डारी, सुष्मा शिवा, उदय शिवा, मोतीमाया जिमी, सम्झना लिम्बु, उमेश शिवा, सुजा जिमी, सुरेन जिमी, नेत्र श्रेष्ठ, तारा कटुवाल घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भने सामान्य घाइते ७ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

चानुवामा दुई दिनदेखि विद्युत् अवरुद्ध थियो । विद्युत् प्रवाह हुनासाथ विद्युतीय सामाग्री चार्ज गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ । चानुवास्थित बाघ खोरमा रहेको ट्रान्समिटरबाट प्रवाह गरिएको विद्युत्मा हाई भोल्टेज प्रवाह भएको विद्युत् प्राधिकरणको भनाई छ ।

हाई भोल्टेज प्रवाह हुँदा अधिकांश घरमा मोबाइल, टिभी, बत्तीलगायतका सामाग्रीमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । कसरी हाई भोल्टेज भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार