पुलिसलाई हराउँदै एपिएफ बन्यो प्रधानमन्त्री कप च्याम्पियन

विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ क्लब च्याम्पियन बनेको हो ।

टियु क्रिकेट मैदानमा एपिएफ क्लबले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको पुलिस क्लब निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १३६ रनमै समेटिन पुग्यो । पुलिस क्लबका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रन बनाए । त्यस्तै, दिलीप नाथले २३ रन, आरिफ शेखले १२ रन तथा अनिल शाहले १० रन जोडे भने पवन सर्वाफ बोल्ड आउट हुन पुगे ।

बलिङतर्फ एपिएफ क्लबका लागि किशोर महत्तोले ३ विकेट लिए भने अमर रौटेला, अविनाश बाेहरा र दिपक बोहराले समान एकएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो  । सुरुमा केही खराव प्रदर्शन गरेको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा सुधार आएको थियो । ९औं नम्बरमा ब्याटिङ गर्न आएका अमर रौतेलाले सर्वाधिक २९ रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै, लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन जाेडे । यसअघिका खेलमा चम्किएका आशिफ सेख ९ र प्रदीप ऐरी भने ७ रनमै आउट भएका थिए ।

बलिङतर्फ पुलिसका दीपेन्द्र र सागर ढकालले समान ३-३ विकेट लिए भने गुलशन झाले २, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट लिए ।

१० टोली सहभागी प्रतियोगितामा विजेता एपिएफले  पाँच लाख र उपविजेता पुलिसले तीन लाख रुपैयाँ प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार