स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह

स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता विष्णु रिमालले समयमै स्थानीय तहको निर्वाचन गर्न आयोगलाई आग्रह गरेको जानकारी दिए ।

‘राष्ट्रियसभाको निर्वाचन तोकिएकै स्थानमा हुन्छ’, रिमालले भने, ‘स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेका छौँ ।’

बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दल सहभागी थिए ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन, मतदाताको नामावली संकलन, स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको हो । बैठकमा आयोगलाई राजनीतिक दलले विभिन्न विषयमा सुझाव दिएका छन् ।

मतदानस्थल र मतदान केन्द्र बढाउनुपर्ने सुझाव दिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘कोरोना महामारी र संक्रमणको स्थितिलाई हेरेर निर्वाचन केन्द्र थप्नुपर्छ’, काँग्रेस नेता लेखकले भने, ‘निर्वाचन केन्द्र र मतदानस्थल थप्नुपर्छ भनेका छौँ ।’

सरकारले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने लगायत सुझावसमेत नेताहरुले दिएका छन् । नेता लेखकका अनुसार बैठकमा आयोगले निर्वाचनका लागि संवैधानिक र कानुनी अवस्था के कस्तो छ भन्ने विषयमा जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार