धादिङ रुबी भ्याली पहिरोः डोजर देखियो, बेपत्ता ३ जना अझै भेटिएनन्

धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर-१ तिप्लिङको पुरु नजिकै बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएका छैनन् ।

लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो जाँदा बिहीबार बिहान बा २ क ४८२१ नम्बरको डोजरसहित डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय निर्माण व्यवसायी अनिश तामाङ पुरिएका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३६ जनाको टोली र स्थानीयले बिहीबार दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको र शुक्रबार बिहानै पुनः खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरो निकै ठूलो भएकाले पन्छाउन त्यति सजिलो नभएको र हाल पहिरो पन्छाउने काम जारी रहँदा डोजरको केही भाग भने देखिएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । बेपत्ता ३ जनाको भने अत्तोपत्तो छैन । ‘पहिरो पन्छाउने काम जारी छ । डोजरको केही भाग देखिएको छ भने मान्छे फेला पार्न सकिएको छैन’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार