उद्धार उडान अनियमितता छानबिनका लागि समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न समिति गठन गरेको छ ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यबाहक महानिर्देशक प्रेमनाथ ठाकुर समेत छन् ।

समितिले चार्टर्ड उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कम उडानको अनुमति दिइएको सन्दर्भमा छानबिन गर्नेछ । कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २ सय ३९ उडान गरेको थियो ।

यस सन्दर्भमा छानबिन गरी १० दिन भित्र प्रतिवेदन बुझाउन समिति गठन भएको हो । समितिले शुक्रबारबाट छानबिन थाल्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार