सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए ।

मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने बताए । मन्त्री खतिवडाले भने, ‘सुरुका बेलामा आतङ्क बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन हो भनेर गर्‍यौँ । जति जानेको थियो, त्यति गर्‍यौँ । त्यसले केही मृत्यु दर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजस्व, सामाजिक क्षेत्रका अनेक कामलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढङ्गले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा विचार पुर्‍याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ ।’

मन्त्री खतिवडाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरेका छन् । मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि नयाँ भेरियन्टबाट बच्न सहज हुने बताएकाले आउँदो माघ पहिलो हप्तादेखि अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्षमाथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्तादेखि आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् । कोरोना खोप लगाउन अस्पतालमा भिड भइरहेको प्रसङ्गमा उनले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भिड हुन नदिने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार