तत्काल अस्पतालमा अक्सिजनको व्यवस्था गर्न निर्देशन, स्मार्ट लकडाउनको तयारी !

प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका छन् ।  शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)को बैठकमा देउवाले तत्काल अस्पतालमा अक्सिजनको तयारी गर्न निर्देशनसमेत दिएका छन् ।

शुक्रबार २४ जनामा ओमिक्रोन र झन्डै एकहजार जनामा कोरोना संक्रमण पुष्टि भएपछि सीसीएमसी बैठक बसेको हो ।

उनले ओमिक्रोनको संक्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराएका छन् । बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नयाँ भेरियन्टको फैलने क्रम, आगामी रणनीति र तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

बैठकमा संक्रमितहरूको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको एक मन्त्रीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार