सुनिल सर्वाधिक गोलकर्ता, विशाललाई ६ क्लिन सिट

सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरण सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । पछिल्लो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पार्‍याे ।

खेलका नायक बने, सुनिल बल । पुलिसविरुद्ध हेड गोल गरेका सुनिल सातौ चरणको खेल सकिँदा पाँच गोलसहित गोल्डेन बुट दौडको शीर्ष स्थानमा छन् । उनले विदेशी खेलाडी अजयी मार्टिन्स र आशिष लामा (चार गोल) लाई पछि पारे ।

यता, मछिन्द्रकै गोलरक्षक विशाल श्रेष्ठ सर्वाधिक ६ ‘क्लिन सिट’ राख्ने पहिलो खेलाडी बने । लिगको आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीविरुद्ध जित हात पार्दा ५४औं मिनेटमा एरिक विष्टको गोल व्यहोर्नुबाहेक विशालले ‘क्लिन सिट’ कायम राखेका छन् । त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ, हिमालयन शेर्पा, संकटा, मनाङ र पुलिसविरुद्ध खेल्दा विशाल ५७६ मिनेट गोल रोक्न सफल भएका छन् ।

विशाललाई पछ्याउने क्रममा मनाङका विशाल सुनार, पुलिसका शत्रुघन चौधरीलगायत छन् । लिगमा सात खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्रलाई समान खेलबाट १६ अंक जोडेको मनाङले पछ्याइरहेको छ । १३ अंक बनाएको संकटा तेस्रो स्थानमा रहँदा समान ११ अंक बनाएका आर्मी र शेर्पा क्रमश: चौथो र पाँचौ स्थानमा छन् ।

समान १० अंकको थ्री स्टार र एनआरटी छैटाैं र सातौं स्थानमा छन् । ८ अंकको सातदोबाटो अन्तिम खेलमा शेर्पासँग पराजित भएसँगै आठौं स्थानमा झर्‍याे । ७ अंकको जावलाखेल नवौं स्थानमा छ । ६ अंक बनाएका एपीएफ र पुलिस १०औं र ११औं स्थानमा रहँदा ब्रिगेड ब्वाइज क्लब र च्यासल ५ अंकसहित १२औं र १३औं स्थानमा छ  भने ३ अंक बनाएको फ्रेन्ड्स पुछारमा छ ।

यसपटक लिगमा पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् । ७ खेलमा ५ गोल गरेर ११ गोल ब्यहोरेको फ्रेन्ड्स रेलिगेसनको बाटाेमा छ ।

जारी लिगको सातौं चरणमा जम्मा १३ गोल भयो । फ्रेन्ड्स र एनआरटीबीचको खेलमा ५ गोल हुनुबाहेक अन्य खेलमा ठुलो अन्तर निस्कन सकेन् । यस चरणमा एक खेलमात्रै नतिजाविहीन भयो । अब आठौं चरणको खेल आगामी शुक्रबारबाट सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार