राष्ट्रिय सभाका उम्मेदवार छनोटको जिम्मा अध्यक्ष प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ ।

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो । आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो ।

सत्तारूढ गठबन्धनको आज बसेको बैठकले उम्मेदवारको विषयमा समेत टुङ्गो लगाएका थियो । गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ । मङ्गलबार उम्मेदवारको मनोनयनको कार्यक्रम छ ।

यसैबीच माओवादी केन्द्रको पदाधिकारी छनोटको प्रक्रिया केही दिनका लागि स्थगित भएको छ । केन्द्रीय समितिको बैठक यही पुस २५ गतेसम्मका लागि स्थगित भएकाले पदाधिकारी छनोटको प्रक्रिया केही दिन पर सरेको हो । सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा पदाधिकारी छनोट गरिने अध्यक्ष दाहालले बताएका छन्। केन्द्रीय समितिका सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले २५ गतेको बैठकपछि पदाधिकारी टुङ्गो लाग्ने जानकारी दिए ।

माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको विधानमा व्यवस्था गरिएको छ । केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । पद तथा गोपनीयताको शपथलगायतका प्रक्रिया पूरा गरेर आजको बैठक स्थगित भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार