एमसीसी राष्ट्रघाति नभएको भन्दै प्रधानमन्त्री देउवाले दिए एकपटक पढ्न सुझाव

'गठबन्धन कसैकोविरुद्धमा बनेको होइन'

प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव दिएका छन् ।

उनले भने, राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहीँ देखेको छैन । म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलाफमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्टघात गरौँला ।’

आफूपनि राष्ट्रवादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफूलाई आवश्यक नरहेको उनको भनाई थियो । उनले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताएका छन् ।

देउवाले गठबन्धन कसैको विरुद्धमा नबनेको पनि बताएका छन् । उनले पाँच दलीय गठबन्धन संविधान र संसद बचाउने गठबन्धन भएको दाबी गरेका हुन् ।

‘यो गठबन्धन कसैकोविरुद्धमा बनेको होइन । संसद् पूरा चलोस । संसद भंग नहोस् भन्ने चाहना छ। म पनि संविधान सभाको सदस्य थिए। यो पाँच दलीय गठबन्धन संबिधान र संसद बचाउने गठबन्धन हो ।’ उनले भने, ‘यो गठबन्धन पूरा समयसम्म चल्ने छ । कसैको खिलापमा गठबन्धन बनेको होइन ।’

उनले अब संसद्लाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे । उनले गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिन तयार रहेको बताए ।

देउवाले शान्ति प्रक्रिया र संविधानसभाको चुनावमा प्रचण्डको भूमिका निकै महत्त्वपूर्ण रहेको बताए । समावेशी समानुपातिक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार