वागमती प्रदेशमा ५ मन्त्री र १ राज्यमन्त्री थपिए

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।   मुख्यमन्त्री  पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो ।

श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् ।

योसँगै बाग्मतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरिएको छ । मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् । कांग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको नेताहरुले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार