एमालेले सदन अवरोध कायमै राख्ने

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।

सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने निर्णय भएको हो । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखबाट त्यसको सुनुवाइ नभएको आरोप एमालेले लगाउँदै आएको छ ।

आजको बैठकमा सो पार्टीका अध्यक्ष ओलीले आफू अन्याय सहेर निरीह भएर बस्न नसक्ने भएकाले विरोध कायम राख्ने र आवश्यक परे अवरोध गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले संसदीय समितिमा एमालेले आफ्नो हैसियतका आधारमा सभापतिमा हेरफेर हुनुपर्ने अडान व्यक्त गरे । उनले राज्यका सबै अङ्ग प्रभावहीन अवस्थामा पुगेको जिकिर गर्दै आफू देशहितका पक्षमा सशक्तरुपमा उभिने बताएका छन् ।

सभामुख सापकोटाले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट खगराज अधिकारी र कृष्णभक्त पोखरेल सहभागी भई सांसद्लाई कारबाही नगरेसम्म संसद् नचल्ने अवगत गराएको जानकारी गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार