काँग्रेस मतगणना: २ हजार मत गन्दा देउवा ५० प्रतिशत नजिक

पहिलो चरणमै देउवाले बाजी मार्ने संकेत

काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।

अहिलेसम्म २६७७ मत गनिसक्दा देउवाले १२६५  मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ९८० र प्रकाशमान सिंहले २०७ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १९५ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ ।
हाल गणना भएको मतमा देउवाको प्रतिशत गणना गर्दा झण्डै ४९ प्रतिशत बढि हुन आउँछ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मत गणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार