कांग्रेस महाधिवेशनः काठमाडौँ आउन थाले प्रतिनिधि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ ।

पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । जहाँनिया राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो ।

उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्प्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झण्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौँमा हुँदैछ ।

नेपाली कांग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल महाधिवेशनमा भाग लिन आइतबार साँझ नै काठमाडौँ आइपुगेका छन् । पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न लागेका मन्त्री कँडेल कांग्रेसलाई सशक्त पार्टी बनाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको बताउँछन् ।

“तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशको विकास गर्नका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको हुँ,”– उनी भन्छन् । गोरखा कांग्रेसका पूर्व सभापति हरिबहादुर घले पनि महाधिवेशनमा भाग लिन शनिबार राति काठमाडौँ आइपुगेका छन् । दुई कार्यकाल गोरखा कांग्रेसको कुशल नेतृत्व गरिसकेका घले १४औँ महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट केन्द्रीय सदस्य बन्ने दाउमा छन् । घलेले आजै गोरखा कांग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा उम्मेद्वारी घोषणा गर्दै छन् ।

कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ ।

मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।

यस्तै ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन समेत सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलिसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउँछन् । “हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नेगरी निर्वाचन समितिले काम गरिरहेको छ”, उनी भन्छन् ।

कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार