नेकपा मसाल फेरि फुट्यो,असन्तुष्ट पक्षको केन्द्रिय समन्वय समित गठन

मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल विभाजित भएको छ । पटक पटक फुटको श्रृंखलाबाट गुज्रिंदै आएको मसालका असन्तुष्ट नेता कार्यकर्ताहरुले राष्ट्रिय भेलामार्फत विभाजित भएको घोषणा गरेका छन । पार्टीमा फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र पार्टीभित्र रहेका असन्तुष्ट उनिहरुले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका जानकारी बुटवलमा पत्रकार सम्मेलन गरेर दिएका छन ।

३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाबाट पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् भने अन्य नेताहरुको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक नेपालीले नेकपा मसाल दक्षिणपन्थी, अधिनायकवादी र स्वेच्छाचारी भएकोले विद्रोह गर्नुपरेको बतााए ।

समितिले नेतृत्वलाई सच्चिएर विशेष महाधिवेशनमा आउन माग समेत गरेको छ । यदि यो नभएको एक वर्षभित्रै नयाँ पार्टी गठन गर्ने तयारी रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

 

समितिले संघीय व्यवस्था खारेज गर्न, एमसीसी सम्झौता खारेज गर्न, भारतद्वारा अतिक्रमित भूभागका सन्दर्भमा उच्चस्तरीय राजनीतिक तहबाट वार्ता गरी सीमा विवाद अन्त्य गर्न, १९५० लगायतका असमान सन्धी खारेज गर्न, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने लगायतका माग सरकारसँग गरेको छ।

समन्यव समितिमा पार्टी नेताहरु विमल शर्मा,गोविन्द सिंह थापा,जीवन शर्मा,रामबहादुर बुढा,नारायण योगी,शशिधर भण्डारी,गंगाधर शर्मा,दीपक पौडेल लगायतका नेताहरु छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार