बन्द सत्रमा ओलीको आह्वानः ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं’

भन्छन्- 'मेरो जिन्दगीको भर छैन'

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि बढ्नुपर्ने बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने, ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’

उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि बढाएको भन्द नेता र कार्यकर्तालाई धन्यवादसमेत दिएका छन् । ओलीले आफ्नो जिन्दगीको भर नभएको बताएका छन् । ‘मलाई ढुक्क लागेको छ । अस्ति एक ठाउँमा पनि भनेको थिए, म कति बाँच्छु थाहा छैन । म धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ भन्न सकिन्न कति बाँचिन्छ,’ उनले भने, ‘मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन, त्यसमा पनि मेरो जिन्दगी त धेरैपल्ट मरेर बाँचेर आएको, त्यत्ति साह्रो भर नहुन सक्छ ।’

ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।

ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दृढ भएर सामना गर्नुपर्नेछ ।’

उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार