काठमाडौंबाट रक्तचन्दनको ३३ लिटर तेलसहित १० जना पक्राउ

प्रहरीले रक्तचन्दनको ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेका छन् ।

प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको एसएसपी खापुङले जानकारी दिए । नेपालमा रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ । त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार