रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल कच्चा तेल निकाल्न बाइडेनको निर्देशन

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेल भण्डारबाट पाँच करोड ब्यारेल कच्चा तेल निकाल्न आदेश दिएका छन् । पेट्रोलियम पदार्थको विश्वभर बढ्दो मूल्य नियन्त्रण गर्न भन्दै राष्ट्रपति बाइडेनले नुनिलो गुफामा अमेरिकाले राखेको मध्ये पाँच करोड ब्यारेल तेल निकाल्न आदेश दिएको समाचार संस्था सीएनएन जनाएको छ ।

बाइडेनले पेट्रोलियम पदार्थको धेरै खपत गर्ने चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत देशसँग छलफल गरेर तत्काल तेल निकाल्न निर्देशन दिएको खबरमा उल्लेख छ ।

अमेरिकी बजारमै कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल ७८ दशमलव ६५ अमेरिकी डलर पुगेको छ । आउँदो डिसेम्बर १५ भित्र पाँच करोड ब्यारेल तेल निकालेर तरल इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गरिने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको सीएनएनले जनाएको छ ।

खाडीका देशहरूले तेल आपूर्ति बन्द गरेपछि अमेरिकाले सन् १९७५ मा विशाल तेल भण्डार खडा गरेको थियो । टेक्सस र लुजियाना राज्यबीच बनाइएका विशाल भूमिगत गुफाहरूमा अमेरिकाले ७० करोड ब्यारेल कच्चा तेल भण्डारण गरेको अनुमान छ । अमेरिकाले बनाएका ती गुफा संसारकै ठूला आपत्कालीन इन्धन भण्डारण गृह हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार