काठमाडौंलगायत प्रमुख सहरमा वायुप्रदूषण उच्च

काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।

कात्तिक अन्तिम सातादेखि प्रदूषणको मात्रा बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन उनीहरूले सुझाव दिएका हुन् । बढ्दो प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । वायुप्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेज अनिश्चित कालका लागि बन्द गरिएको छ ।

वायुप्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेज बन्द गरेका हुन् । नेपालमा पनि राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा प्रदूषणको मात्रा उच्च हुँदै गएको हो । नयाँ दिल्ली र पाकिस्तानमा प्रदूषण बढी भएपछि त्यसको असर नेपालमा पनि देखापरेको वातावरण क्षेत्रका विज्ञहरूले बताएका छन् । बिहीबार धनगढीमा उच्च प्रदूषण भएको पाइएको छ ।

गत वर्ष प्रदूषण बढेपछि सरकारले विद्यालय नै बन्द गर्ने निर्णय गरेको थियो । यो वर्ष पनि प्रदूषणका कारण शैक्षिक संस्था तथा यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने मौसमविद्हरूले बताएका छन् । मौसममा देखिएको परिवर्तनसँगै वायुप्रदूषण पनि ह्वात्तै बढेको हो । वायुको गुणस्तरको सूचकांक (एक्यूआई) अनुसार बिहीबार राति १० बजे नेपालका सहरमध्ये बढी प्रदूषित सहरका रूपमा धनगढी देखिएको थियो ।

बिहीबार राति धनगढीमा एक्यूआई १९३ थियो भने विराटनगरमा एक्यूआई १९१ मापन गरिएको थियो । यसैगरी, काठमाडौंमा एक्यूआई १७३ मापन गरिएको वातावरण विभागको वायुप्रदूषण मापन शाखाले जनाएको छ । रत्नपार्कमा एक्यूआई १८८ र ललितपुरको भैंसेपाटीमा १६७ भन्दा बढी मापन गरिएको थियो । सो अंकले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउने वातावरणविद् भूषण तुलाधर बताए ।

वायु गुणस्तरको व्यवस्थापनका लागि सरकारले दुई वर्षअघि काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएर ३०० भन्दा बढी भए विपद्को रूपमा लिने जनाएको थियो । काठमाडौं उपत्यकाको भौगोलिक बनोटका कारण पनि वायु प्रदूषणका लागि जोखिम बढिरहेको र संवेदनशील अवस्थामा रहेको वातावरणविद् तुलाधर बताउँछन् ।

यो वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने चिकित्सकहरू बताउँछन् । भेरी अस्पतालमा कार्यरत डा. राजन पाण्डेले जाडोमा न्यानोका लागि बन्द कोठामा कोइला बाल्ने, हिटर चलाउनेजस्ता काम रोक्नुपर्ने सुझाव दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार