कांग्रेसले १४ औं महाधिवेशनपछि नीति अधिवेशन गर्ने

नेपाली काँग्रेसले १४ औं महाधिवेशनपछि नीति महाधिवेशन गर्ने भएको छ । यसअघि महाधिवेशन कै बेलामा काँग्रेसले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दै आएकोमा अब भने छुट्टै नीति अधिवेशन गर्न लागेको हो ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अबदेखि महाधिवेशनपछि नीति अधिवेशन गर्ने भनेर सहमति जुटेको हो । यसअघि काँग्रेसका नीति तथा कार्यक्रमसम्बन्धी प्रस्तावका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठनको तयारी भएको थियो । तर अब त्यसो नगरी एकैचोटी पछि नीति अधिवेशन गर्ने सहमति जुटेको हो ।

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने छ । तर, नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम भने मंसिर २१ गतेबाटै सुरु हुने एक केन्द्रीय सदस्यले जनाए । प्रदेशमा पनि कांग्रेसको नीतिका लागि नभई नेतृत्व छनोटका लागि मात्रै अधिवेशन हुने भएको छ ।

उनका अनुसार समय अभावका कारण विधान अधिवेशन अर्को मितिमा गर्ने निर्णय भएको हो । मंसिर २१ मा उम्मेदवार मनोनयन दर्ता हुनेछ भने २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ । त्यस्तै २५ र २६ गते नेतृत्व चयनका लागि मतदान हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार