विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबिच एकीकरण हुने

रवीन्द्र मिश्र एकल कार्यकारी अध्यक्ष रहने

वैकल्पिक शक्ति निर्माणको उद्घोषसहित राजनीतिमा होमिएका रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टी (राजदपा) बीच एकीकरण हुने भएको छ ।

विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई(तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको हो । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ। र, रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन् ।

सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो ।

“राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान” का लागि २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार सिटिजन्सबाट ३५ जना र राजदपाबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन् । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ । एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ ।

विवेकशीलका अध्यक्ष मिश्रले रूपान्तरणकारी शक्ति निर्माणका लागि भएको यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा एउटा बलियो कदम भएको बताए । उनले यो देशमा शान्ति, स्थिरता, सुशासन र समतामूलक संवृद्धि चाहने र देशलाई शिरमा राख्ने सबै नागरिक, विभिन्न समूह तथा पार्टीहरूलाई निहित स्वार्थ, भ्रष्टता र कुशासनको चक्र तोड्नका लागि एकजुट हुन पनि आग्रह गरेका छन् ।

अध्यक्ष मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहका लागि प्रस्ताव गरेको र विवेकशील साझा पार्टीले हालै अनुमोदन गरेको “मार्ग परिवर्तनस् विचारभन्दा माथि देश” दस्ताबेजलाई एकीकृत पार्टीले अङ्गीकार गर्दै अघि बढ्ने र एकता घोषणा छिटै सार्वजनिक गरिने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार