रक्सी नखान पार्टी निकट पत्रकारहरुलाई माधव नेपालको निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति र बानी त्याग्न पत्रकारहरूलाई सुझाव दिएका छन् ।
शनिबार काठमाडौँमा पार्टीनिकट समाजवादी प्रेस सङ्गठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिँदै त्यस्तो थाहा पाएँ राम्रो नमान्नेसमेत बताएका छन् ।    ‘पाँच तारे होटेल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, नेपालले भने ।
साथै उनले पार्टी नेताहरू समेत साँझ नपर्दै होटेलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्ने गरेको सूचना पाएको बताएका छन् । पत्रकारहरूले पनि त्यसो गर्न नहुने उनले बताए ।
नेपालले भने,’अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ,गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटेलमा जम्मा हुने गर्छन् । टेबुलभरि बोतल र गिलास ठोकाठोक गर्ने अनि घरमा गएर झगडा गर्ने कुन पार्टीका मान्छे हुन् रु यो प्रश्न तपाईँहरूलाई पनि उठेको छ । यस्तो बानी छ भने त्याग्नुस् । मैले थाहा पाएँ भने सहन्नँ ।’
उनले जनतालाई सुसूचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न पनि आग्रह गरेका छन् ।  उनले आफूहरूले सामाजिक न्यायसहितको समाजवाद चाहेको धारणा व्यक्त गरेका छन् । त्यस्तै उनले पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरूको लहर चलिरहेको दाबी गरे ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार