प्रधानमन्त्री देउवाले भने – पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा हुन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन आफ्नो हातमा नभएकाले  निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भएपनि अधिवेशन पार्टी सभापतिको हातमा नभई निर्वाचन समितिको हातमा रहेको बताए ।

अधिवेशन आफूले चाहेर पनि नहुने र आफूले  भनेर पनि नहुने भन्दै उनले  निर्वाचन समितिले काँग्रेसको पार्टी महाधिवेशन समयमै गराउने दाबी गरेका हुन् । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रूपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुस्मनी बढाउनु नहुने बताए । उनले अहिले पार्टी अधिवेशन आउँदै गरेकोले यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउन र हुँदै नभएमा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउन निर्देशन दिएका छन् ।

अधिवेशनमा जित हार हुने भएकाले हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने भन्दै जित हारमा दुस्मनी नबढाउन आग्रह गरे । प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले बेलायतमा मन्त्रीहरूले कोरोना भाइरस विरुद्धको एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उनले यसअघि खोप लगाएका तथा लगाउन बाँकी सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार