विवेकशील साझामा रवीन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगले दियो वैधता

निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्यीय हुने विषय आयोगमा अद्यावधिक गरेको छ।
पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार कात्तिक ११ मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेका विषयलाई आयोगमा अद्यावधिक गरिएका छन्।

रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो। विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो ।

नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरिसकेको प्रवक्ता पाठक बताउँछन्।

विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ ।

अध्यक्ष मिश्रले फरक मत राख्नेहरूलाई केन्द्रीय समितिले गरेको निर्णय र आयोगको निर्णय सम्मान गर्न आग्रह गरेको प्रवक्ता पाठक बताउँछन्।पछिल्लो समय अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच विवेकशील साझा पार्टीभित्र एक-अर्को प्रस्ताव ल्याउने र भिन्नभिन्न केन्द्रीय समिति बैठक बस्ने गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार