टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टीम बाहिर !

टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन् । अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ ।

पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ । तर, तीन पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट बाहिरिने संघारमा छन् । ती टोलीहरू हुन्, भारत, श्रीलंका र वेस्ट इन्डिज ।

भारत
२०२१ को टी-२० विश्वकप भारतीय टोलीका लागि दुखद रह्यो । भारतलाई उपाधि दाबेदार टीमका रूपमा हेरिए पनि उसको प्रदर्शन भने सम्झनलायक रहेको छैन । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको नमिठो हार बेहोरेको थियो ।

यस्तै दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भयो । भारतको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ । यदि भारतले सेमिफाइनलमा पुग्ने आशा जीवित राख्ने हो भने उसले आफ्ना बाँकी तीन खेल ठूलो अन्तरले जित्नुपर्नेछ ।

र, साथसाथै अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरोस् भन्ने प्रार्थना गर्नुपर्नेछ । भारतले सन् २००७ मा मात्रै टी-२० विश्वकप जितेको थियो ।

श्रीलंका
चारमध्ये तीन खेलमा हार बेहोरेर टी-२० विश्वकपबाट बाहिरिएको टोली हो श्रीलंका । श्रीलंकाले छनोट चरणका सबै तीन खेल जितेको थियो । तर, सुपर १२ मा भने आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

श्रीलंकाले भारतलाई हराएर २०१४ को टी-२० विश्वकपको उपाधि जितेको थियो । श्रीलंका जुन समूहमा छ, त्यो समूहमा निकै बलियो टोली छन् । जसको अगाडि श्रीलंकाको जादू चल्न सकेन् । धेरै अनुभवी खेलाडी टीम बाहिर भएका कारण श्रीलंका कमजोर भएको छ ।

वेस्ट इन्डिज
वेस्ट इन्डिजले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ । उसलाई सेमिफाइनल पुग्न पनि कठिन छ । वेस्ट इन्डिजले २०१२ र २०१६ मा दुई पटक टी-२० विश्वकपको उपाधि जितेको थियो । तर, यसपालि राम्रो प्रदर्शन गर्न सकेको छैन ।

वेस्ट इन्डिजका ब्याट्सम्यान लामो छक्का प्रहार गर्न परिचित छन् । तर, यसपटक टोलीका कुनै पनि ब्याट्सम्यानले ठूलो उपलब्धि देखाउन सकेनन् । वेस्ट इन्डिजको कप्तानी केरोन पोलार्डले गरिरहेका छन् ।

इंग्ल्यान्ड र पाकिस्तान फाइनल भिड्ने सम्भावना
टी-२० विश्वकप २०२१ मा अहिलेसम्म इंग्ल्यान्ड मात्र सेमिफाइनलमा पुगेको छ । टोलीले अहिलेसम्म खेलेका चारवटै खेल जितेको छ । जोस बटलरको शतकको मद्दतले इंग्ल्यान्डले श्रीलंकालाई सोमबार २६ रनले पराजित गरेको हो ।

इंग्ल्यान्डले सन् २०१० मा टी-२० विश्वकपको उपाधि जितेको थियो । जारी विश्वकपमा इंग्लिस टोली लयमा छ। बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन् ।

पाकिस्तानले आफ्ना तीनवटै खेल जितेको छ र यो टोली समूहको शीर्ष स्थानमा छ । पाकिस्तानको बलिङ दमदार फर्ममा छ । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले घातक बलिङ गरिरहेका छन् ।

योसँगै उनीसँग आसिफ अलि जस्ता फिनिसर पनि छन्, जसले एक ओभरमा चार छक्का प्रहार गरेर खेल जिताउन सक्छन् । पछिल्लो प्रदर्शनलाई हेर्दा पाकिस्तानी टोलीले उपाधि कब्जा गर्न सक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार