प्रधानन्यायाधीश जबराले तोके संवैधानिकसहित ११ इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका छन् । उनले आफू नेतृत्वको एकल इजलास पनि तोकेका छ्न् ।

संवैधानिक इजलासमा प्रधान्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् । उनीहरु दुई दिनदेखि इजलास बहिष्कार गर्दै आएका छन् । संवैधानिक इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमाललगायतले दायर गरेको पेशी चढेको छ ।

मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भनिरहेका छन् । तर न्यायाधीश जबराले भने आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएकाले राजीनामा नदिने अडान लिएका छन् ।

सर्वोच्चका २० मध्ये १८ न्यायाधीश सशरीर तथा इमेल सन्देशमार्फत प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् । उनीरुले सोमबार र मंगलबारको इजलास पनि बहिष्कार गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार