डेढ वर्षपछि सोती घटनाका साक्षीको बकपत्र शुरु

६ जनाको ज्यान जाने गरी अघिल्लो वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटनाका साक्षीको बकपत्र शुरु भएको छ । जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने बताए ।

उक्त घटनाका वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई आज हाजिरी गराइएको छ । सोती घटनामा संग्लग्न भएको आरोपमा चौरजहारी नगरपालिका ८, सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको छ ।

तीमध्ये २३ जना आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएका छन् । ११ जनालाई तारेखमा छाडिएको छ । अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सामान्य तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।

बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिका भनिएकी १७ वर्षिया किशोरी र एक किशोरलाई आभिभावकको जिम्मामा रहनेगरी उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको छ ।

त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर घर्तिलाई पनि साधारण तारिखमा छाड्ने आदेश दिएको थियो ।

गत वर्ष जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीलाई उक्त घटनामा मारिएको थियो । पछि छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार