जसपाले बुझायो मुद्दा फिर्ता लिनुपर्ने २१० जनाको नाम

जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ । पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ । जसपाका नेता डा. सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन् ।

२४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको डा।झाले बताए। जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम पनि छ । २०७२ सालको तेस्रो मधेस आन्दोलनका क्रममा जलेश्वरमा थमन विकको हत्या घटनामा शर्मालाई अभियुक्त बनाएर मुद्दा चलाइएको छ ।

सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम पनि छ । २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार