नागरिक उडड्यान प्राधिकरणमा क्षेत्रीको नियुक्तिले सरोकारवालामा उत्साह

सही स्थानमा सही व्यक्ति छानेको भन्दै मन्त्री आलेको प्रशंसा

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त  भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महानिर्देशकका लागि क्षेत्रीको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाएको थियो ।  पर्यटन मन्त्री प्रेम आलेको प्रस्तावमा निमित्त रहेका क्षेत्रीलाई  महानिर्देशकको जिम्मेवारी दिइएको बताइएको छ ।
तत्कालीन महानिर्देशक राजन पोखरेलले अवकाश लिएसँगै क्षेत्रीलाई वरिष्ठको आधारमा निमित्तको जिम्मेवारी दिइएको थियो ।  त्रिभुवन विमानस्थलको प्रमुख हुँदा उल्लेखनीय काम गरेर वाही वाही कमाएका क्षेत्रीलाई प्राधिकरणको नेतृत्वमा जानबाट रोक्न भएका चलखेललाई निस्तेज पारेर मन्त्री आलेले १२ औँ तह मध्येका सिनियर क्षेत्रीलाई महानिर्देशकको जिम्मा लगाएका छन् । क्षेत्रीलाई महानिर्देशक बनाउने सरकारको निर्णयले अहिले नेपालको नागरिक उड्डयनको क्षेत्रमा आशाको सञ्चार भएको छ ।
प्राधिकरणमा लामो समय काम गरेका विज्ञको नेतृत्वमा यो क्षेत्रले फड्को मार्ने भन्दै महानिर्देशकमा क्षेत्रीको नियुक्तिपछि प्राधिकरणका कर्मचारी, वायुसेवा कम्पनी, लगायतका सरोकारवालाहरू हर्षित छन् । उनीहरूले सही ठाउँमा सही व्यक्तिको छनौट गरेको भन्दै सरकार र विभागीय मन्त्री आलेको समेत प्रशंसा गरेका छन् ।
क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार