पाँचथर बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

पाँचथरको फिदिम नगरपालिका(४ सरखण्डेमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भइ उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।

समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको भने पहिचान हुन सकेको छैन । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि तराईका सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करिब ११ः३० बजे सडकबाट झरेको थियो । अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार