बाढी, पहिरो, डुबान पीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय

मृत्यु हुनेका परिवारले कम्तिमा २ लाखसम्म पाउने

सरकारले बाढी पहिरो र डुबानमा परेकालाई राहत र क्षतिपूर्ति दिने निर्ण गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

यस्तै बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै मन्त्री खाँणले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए ।

यसैगरि पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने छ । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

शनिबारदेखि परेको अविरल वर्षाका कारण बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् । कैयौं ठाउँमा धानबाली बगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार