ओली भन्छन्- हामीले चाहने हो भने यो सरकार एक हप्तामा ढाल्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् ।

एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् । उनले भने, ‘नेकपा एमालेलाई हल्याउन पर्यो भने देश विदेशका सारा शक्तीले होस्टे होस्टे गरेपनि सक्दैनन् । यो सरकारको जस्तै सांठगांठ गर्ने हो भने यो सरकार एक हप्ताभित्र ढाल्न सक्छौं । हामीलाई त के छ र सिँगै आएको हो ।’

उनले माधव नेपालप्रति लक्षित गर्दै एमाले सिध्यायौँ भनेर प्रचार गरिएपनि एमाले झन् बलियो भएको बताए । उनले यो सरकारसँग काम गर्ने हुती नै नभएको बताए ।

उनले भने, ‘झन एमाले ठूलो छ, बलीयो छ । हाँगा हालेर झाँगिएको छ । मुन्टो निमोठ्यौँ भन्थे झन् हाँगा हालेको छ ।’ उनले एमालेका कार्यकर्तामा उत्साह छाएको र अबको चुनावमा जित्ने बताए । उनले भने, ‘हामीले देशको विकासका लागि थुप्रै रेकर्डहरु कायम गरेका छौं । एमालेले विकासका आयामहरु फैलाएको छ ।’

उनले आम जनताको मनमनमा एमाले आउने बताए । उनले भने, ‘वृद्धभत्ता भन्ने बित्तिकै एमालेको नाम आउँछ। स्वास्थ्य प्रणाली सुदृढ कसले गर्यो भन्दा एमालेको सरकारले ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार