बेमौसमी बाढीको कहर, देशभर २५ बढिको मृत्यु, दजनौ बेपत्ता

जल तथा मौसम पूर्वानुमान शाखाको अनुमान फेल

मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै देशभर व्यापक जनधन क्षति हुने गरी भारी वर्षा भएको छ । बंगालको खाडी र मध्यभारतमा रहेको न्यून चापीय प्रणालीमा पश्चिमी वायुको बलियो प्रभाव थपिएपछि आइतबारदेखि पानी परेको हो । विज्ञहरूले मनसुनका बेला र मनसुनपछि वर्षाको चरित्र बदलिएको विश्लेषण गरेका छन् । अक्टोबरमा भएको भारी वर्षा १२ वर्षयताकै उच्च हो ।
जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका अनुसार मुलुकका २० वटा मापन केन्द्रलाई आधार मान्दा अक्टोबरभरिको सरदर वर्षा ६६।५ मिमि हो । तर यो वर्ष अक्टोबरका १९ दिनमै १६८।३ मिमि वर्षा भइसकेको छ । जुन सरदरभन्दा १०२ मिमिले बढी हो । यसलाई भारी वर्षाका रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् ।नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । कर्णाली नदीको तटबन्ध भत्किएर बस्ती पस्दा बर्दियामा मात्रै हजारभन्दा बढी घर डुबेका छन् ।

 

डोटीको सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घर पहिरोले पुर्दा उनका छोराहरू १४ वर्षीय सागर र १० वर्षीय आशिषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । जोरायल–३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते उनकी श्रीमतीको पनि उपचारका क्रममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् । सइकडा खोलाको बाढीले घर भत्काउँदा जोरायल–४ का एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोराहरू १८ वर्षीय मोहन र १६ वर्षीय रविन तथा छोरी १६ वर्षीया पवित्रा रहेको डोटी प्रहरीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा रामी पार्कीको घर पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए । त्यस्तै, सिन्धुलीमा मामाघरमा दसैंको टीका लगाएर फर्किने क्रममा चाल्ने खोलाले बगाएर मंगलबार फिक्कल गाउँपालिका ५ जाङजाङकी २० वर्षीया सरिता भुजेलको मृत्यु भएको छ । गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार सरिताको शव खोलाले बगाउँदै गरेको अवस्थामा करिब एक किलोमिटर तल भेटिएको थियो ।

 

कालीकोटको महाबै गाउँपालिका–७ राम्नीमा पहिरोले घर बगाउँदा १८ वर्षीय स्मृति अधिकारीको मृत्यु भएको छ । उनीसँगै सुतेकी १५ वर्षीया इशानी अधिकारी घाइते भएकी छन् । डडेलधुराको गन्यापुर गाउँपालिका–१ भात्काडामा पहिरोमै पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ । अवस्थीकी छोरी ६ वर्षीया सरिता घाइते छिन् । यता, सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गस्थित विशाल राईको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयका एसपी भीम दाहालका अनुसार ४ वर्षीय निहान राई र ७ वर्षीया निसु राईको मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार