९ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई सबै जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न अनुरोध गरेको हो । यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

यसैगरी ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार