यस्तै रह्यो भने केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कांग्रेस सांसद कँडेल

'जस्ता गुरु त्यस्तै चेला' भन्दै एमालेका सांसदहरूलाई गरे व्यंग्य

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अहिलेको राजनीतिक अवस्था कायमै रहने हो भने केपी शर्मा ओली नेकपा एमालेको अन्तिम प्रधानमन्त्री हुने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै कँडेलले प्रधानमन्त्री ओलीले आफूसँग राजनीतिक आन्दोनलमा सहभागी नेताहरूलाई पन्छाउँदै गएको र एकता गरेर आएका दलहरूलाई गरेको व्यवहारले पनि एमालेको अन्तिम प्रधानमन्त्री ओली हुने देखाएको बताए ।

२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी अभिव्यक्ति दिएको सुनाउँदै कँडेलले भने, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्। त्यसपछि अगाडि बढ्न सक्दैन ।’

कँडेलले एमालेका सांसदहरूको बोली पनि ओलीकै जस्ता रहेको बताएका थिए । उनले ‘जस्ता गुरु त्यस्तै चेला’ भन्दै एमालेका सांसदहरूलाई व्यंग्य गरेका थिए । प्रधानमन्त्रीले संसदमा आएर विश्वासको मत लिनुपर्ने कँडेलको धारणा थियो । उनले संविधान देखाउँदै सरकारको नेतृत्व गरिरहेको पार्टी विभाजन भएमा वा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था पढेर सुनाएका थिए ।

‘हिजो नेकपाले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । उहाँले समर्थन फिर्ता लेऊ भन्‍न पाउनुहुन्न । उहाँले विश्वासको मत लिनुपर्छ’ कँडेलले भने ।

संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार