पाकिस्तान नेपालसँग सधैँ मिलेर काम गर्न चाहन्छ : प्रधानमन्त्री खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँग सधैँ मिलेर काम गर्न चाहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग बुधबार इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको उल्लेख गरे ।

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता भएको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताए ।

उनले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवं साहसिक पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यसनिम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे । कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवं आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार