गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु भएको छ । सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिए । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो ।

तिलकको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । पहिरो खसेर अन्य छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक छोरीलाई सानो प्वालबाट तानेर बचाएको वडाध्यक्ष भरत भलामीले बताए ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

राति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोली घटनास्थल पुगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार