हामी अतिथि होइन, रैथाने लोकतन्‍त्रवादी हौं : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु पावर केन्द्रित गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दुल’ विमोचन समारोहमा कांग्रेस नेता दमननाथ ढुंगानाले कम्युनिष्टहरुले लोकतन्त्र नचाहेको र केन्द्रीकृत शासनको पक्षपात गर्न खोजेको आरोप लगाएपछि जवाफमा ओलीले कम्युनिष्टहरु केन्द्रीकृत शासन गर्छन् भन्ने कुरामा भ्रम नपाल्न आग्रह गरे ।

‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हो’, उनले भने । ओलीले अघि भने, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम सेक्रिफाइज गरेका छैनौं ।’

उनले अहिले नेकपा एमालेले अपनाएको लोकतान्त्रिक पद्धति र संस्कार सबैभन्दा उत्तम भएको दाबी गरे । ‘नेपालको लोकतन्त्रलाई आकार दिने कुरामा नेकपा एमालेले जुन प्रारुप अघि सारेको छ, त्यो प्रारुप, त्यो खाका अहिलेलाई कसैसँग पनि छैन, चाहे त्यो कांग्रेस होस् वा अरु, हामीले अघि सारेको जस्तो प्रारुप कोहीसँग छैन । किनभने हामी जनताको जनवादबाट निर्देशित छौं । बहुदलीय स्वस्थ प्रतिस्पर्धात्मक प्रणाली हामी मान्छौं,’ ओलीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार