ओमानमाथि नेपालको ऐतिहासिक जित

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो ।

ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमै भेट्टाएको हो । नेपालका ओपनर आसिफ शेखले ४० र कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए । त्यसअघि अर्का ओपनर कुशल भुर्तेल ६ रनमै समेटिएका थिए । रोहित पौडेल ६ रनमै समेटिएको खेलमा शरद् भेस्वाकरले अविजित १ रन बटुले ।

त्यसअघि बलिङमा नेपाल निकै घातक देखिएको थियो । नेपालबाट करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिए । जसकारण, ३७ ओभर १ बलमै ओमान १ सय २१ रनमा अलआउट भयो ।

ओमानबाट कप्तान जिसान मक्सदले ४१ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । यद्यपि क्रिजमा टिकिरहेका कप्तान मक्सुदले आठौं विकेटका लागि नसिम खुशीसँग २२ र नवौं विकेटका लागि मलिमुल्लाहसँग २० रनको साझेदारी गर्दै स्कोर १०० भन्दा माथि कटाए । उनी ४१ रनमा आउट हुँदा टिमको स्कोर १०६ रन थियो ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार