धादिङका साना किसानलाई मेगा बैंकले सहुलियत कर्जा दिने

मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरूलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केट लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ स्थित शाखा कार्यालयबाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लगानीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले लक्षित साना किसान तथा लघु व्यवसायीहरुलाई बैंक समक्ष सिफारिस गर्नेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंकका प्रमुख लघु तथा कृषि कर्जा पुण्यप्रसाद खनियाले साना किसान तथा लघु व्यवसायीहरुलाई मेगा बैंकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताए ।

यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ कृषि, लघु तथा साना कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार