नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह

नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् । उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् ।

अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो । उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ ।

एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार