कर्णालीका मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

ओली समूहमा गएका सांसद हटाइए

कर्णाली प्रदेश नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल विश्वासको मत नलिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको संसदीय दलको बैठकले एमालेको माधव नेपाल समूहका मन्त्रीहरु सरकारमै रहेका कारण तत्काल विश्वासको मत दिनुपर्ने अवस्था नभएको ठहर गर्दै विश्वासको मत नलिने भएको हो ।

यस्तै बैठकले आइतबार एमालेको बैठक बस्ने जानकारी आएको भन्दै सो बैठकको निर्णयलाई हेरेर आवश्यक कदम चाल्ने पनि निर्णय गरेको छ । नेकपा एमालेका १० सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर एमालेका तीन जना सांसदहरु मन्त्रीको रुपमा अझै पनि कार्यरत छन् ।

यस्तै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य धर्मराज रेग्मीको पद नरहने गरी हटाइएको छ । रेग्मीलाई पार्टीले कारबाही गरिसकेकाले सांसद नरहने गरी पद हटाइएको संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले बताइन् । उनको ठाउँमा रुकुमका सांसद रातो कामीलाई राखिएको पनि उनले जानकारी दिएकी छन् । रेग्मी माओवादी छोडेर एमाले केपी ओली समूहमा गएका थिए ।

यसैगरी, बैठकले प्रदेश प्रमुखले अविश्वास प्रस्तावबारे ध्यानाकर्षण पत्र पठाएर संविधानको उल्लंघन गरेको भन्दै खेद प्रस्ताव पारित गरेको छ । १० जना सांसदले समर्थन फिर्ता लिएको विषयमा बारम्बार पत्र पठाउनु अधिकार क्षेत्रभन्दा बाहिरको कुरा भएको बैठकको निस्कर्ष छ । सरकार अल्पमतमा नपर्दै प्रदेश प्रमुखले विश्वासको मत लिन ध्यानाकर्षण पत्र पठाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार