बुटवलको ज्योतिनगरमा पहिरो, दर्जन घरमा क्षति

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योति नगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ । आज बिहान ६ बजे चुरे पहाडबाट खसेको पहिरो मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पसेको छ ।

उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको बिजुलीको पोल बगाएको छ । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् ।

पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार