माधव नेपालले आफ्नो पार्टीको नाम एमाले हटाएर नेकपा एकीकृत (समाजवादी) राख्ने

चुनाव चिन्ह भने अझै अन्योल

माधवकुमार नेपालले दर्ता प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) बाट एमाले हट्ने भएको छ । निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अर्को नाम लिएर आउन सुझाव दिएपछि नेपालले आफ्नो पार्टीको नाम फेर्न लागेका हुन् ।

नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार आयोगको सुझावपछि नेकपा एमाले (समाजवादी) बाट एमाले हटाइने भएको हो । अब आफ्नो पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखिने भएको उनले जानकारी दिए । ‘पहिलाको नाममा एमाले हटाएर एकीकृत राखिएको हो,’ उनले भने, ‘नयाँ नाम नेकपा एकीकृत (समाजवादी) राखिएको छ ।’ राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

नेपाल पक्षले पार्टीको चिन्ह प्रस्ताव गरेको खुला किताबका सम्बन्धमा समेत विवाद देखिएको छ । आयोगमा दर्ता भइसकेको पार्टीले सो चिन्ह लिइसकेकाले चिह्नका सम्बन्धमा समेत अन्योल देखिएको हो । नेपाल पक्षले नयाँ चिन्हका सम्बन्धमा भने निर्णय लिइसकेको छैन ।

त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्‍याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार