अनियमितताको उजुरीको सुनुवाइपछि खाँदबारी अस्पतालमा आइसीयू जडान प्रक्रिया अगाडि बढ्यो

सङ्खुवासभास्थित जिल्ला अस्पताल खाँदबारीको आइसीयू उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाइ भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले सो उजुरीको फैसला सुनाएको हो ।

द मेडिकल सोलुसनले खरिद प्रक्रिया गलत भएको जनाउँदै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गर्न सो समितिमा उजुरी दिएको थियो । अस्पतालले गरेको खरिद प्रक्रिया गलत नभएको जनाउँदै सामग्री खरिदका लागि समितिले बुधबार जिल्ला अस्पताललाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिए ।

अध्यक्ष भीमकुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रक्रियामा त्रुटि नरहेको निष्कर्ष निकालेको थियो । उपकरण खरिदका लागि सबैभन्दा थोरै रकम कबोल गर्ने सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख छ । उक्त निर्णयसँगै अनियमितताको आरोप लगाउँदै पुनरावलोकन समितिमा उजुरी दिने सोलुसनको रु तीन लाख धरौटी रकम जफत गर्ने भनिएको उनले बताए ।

अस्पतालको आइसीयू सामग्री खरिदसम्बन्धी गरिएको बोलपत्र आह्वानमा पाँच कम्पनीले बोलपत्र पेश गरेका थिए । तीमध्ये आर्थिक प्रस्तावमा बढी रकम पेश गर्ने ¥यापिड ट्रेडर्सलाई अस्पतालले छनोट गरेको थियो । उक्त ट्रेडर्सको प्रस्ताव रकम बढी भए पनि सबैभन्दा गुणस्तरीय सामग्री उपलब्ध गराउने कबोल गरेको बायोमेट्रिक विशेषज्ञको सिफारिसअनुसार ¥यापिडलाई छनोट गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो । उक्त निर्णयपछि सबैभन्दा न्यून रकम कबोल गर्ने सोलुसनले उजुरी दर्ता गराएको थियो । उक्त उजुरीपछि सार्वजनिक खरिद अवलोकन समितिले अनुसन्धान सुरुआत गरेको थियो ।

सार्वजनिक खरिद अवलोकन समितिको उक्त निर्णयसँगै आइसीयू खरिद प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । अब जति सक्दो चाँडो आइसीयू उपकरण जडान गरी सेवा सञ्चालन गरिने अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए । यसका लागि कुनिना गुठीले मासिक रु तीन लाख उपलब्ध गराउने सम्झौता गरिसकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार