माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली

आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् । बैठक बोल्दै ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टीमा ठाउँ नभएको बताएका हुन् ।

‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।

पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो । आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताए ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार