निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत गएका छन् ।

यसअघि जसपामा रहेको विवादको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च पुगेका ठाकुर शुक्रबार भने आयोगको निर्णयविरुद्ध रिट दिएका छन् ।निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ ।

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु–नगराउनु भनी अन्तरिम आदेश जारीको माग गरेका छन् । ‍ठाकुरको तर्फबाट वारेस प्रदीपकुमार पाठकले सर्वोच्च अदालतमा रिट दिएका हुन्। यसअघिनिर्वाचन आयोगले बहुमतको आधारमा उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो।

जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषद्‍मध्ये ३४ जना यादवको पक्षमा देखिएका थिए भने १६ जना ठाकुरको पक्षमा थिए। हाल जेलमा रहेका रेशम चौधरी भने तटस्थ बसेका थिए। १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ । रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार