न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न गठबन्धनलाई आग्रह गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिटै तय गर्न गठबन्धनलाई आग्रह गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु छिटो भन्दा छिटो तय गर्न गठबन्धनदलहरुलाई आग्रह गर्ने निर्णय गरेको हो । न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीको तर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीले प्रतिगमनविरुद्धको संघर्षलाई सफल बनाएको भन्दै अब पार्टी गतिविधिलाई तिव्रता दिने निर्णय गरेको छ । जसअनुसार साउन १७ गते स्थायी कमिटी र साउन २० गते केन्द्रीय कमिटी बैठक बिहान ११ बजेदेखि बस्ने गरि आह्वान गरेको छ । बैठकले असंवैधानिक अलोकतान्त्रिक प्रवृति रोक्न पार्टी सफल भएको निष्कर्षसमेत निकालेको प्रवक्ता श्रेष्ठले बताए । उनले मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने दावी गरेका छन् ।

त्यस्तै बैठकले माओवादीका नेता नरबहादुर कर्मचार्यको स्मृति दिवस साउन ९ गते पेरिसडाँडामा बिहान ९ बजे कार्यक्रमको आयोजना गरेर मनाउने निर्णयसमेत गरेको छ । साथै माओवादीले विश्वासको मत दिने सबैप्रति आभार व्यक्त गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार