अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल विजयी

अमेरिकामा पहिलो अभ्यास खेल खेलेको नेपालले जित हासिल गरेको छ ।

आइसिसी टी(२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनायो । अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन खर्चेका थिए ।

हरिकेन्सबाट लाहिरु मिलान्थाले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । अली शेख २३, स्मित पटेल १९ आर्कषित गोमेल १८ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एकरएक विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्पलेक्स ह्युस्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका तेस्रो नम्बरका ब्याटर अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

नेपालको सुरुवात भने राम्रो हुन थिएन । ओपनर कुशल भुर्तेल ६ बलमा १ रन तथा आसिफ शेख ६ बलमा ४ रनमा आउट भएका थिए । दुवै ओपनर क्याच आउट हुँदा नेपाल २.२ ओभरमा ९.२ को अवस्थामा थियो ।

त्यसपछि अनिल र रोहित पौडेलले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । स्पिनर अली शेखको बलमा स्वीप खेल्ने धुनमा रोहित २३ रनमा एलबीडब्लू आउट भए । रोहितले १८ बलमा २ चौका प्रहार गरे ।

चौथो विकेटका लागि अनिल र कुशल मल्लले ३० रनको साझेदारी गरेका थिए । कुशल मल्ल जिआ शाहजादको १३ औं ओभरको अन्तिम बलमा लङअफमा १२ रनमा नौमानबाट क्याच आउट भए । लगत्तै अर्को ओभरमा अनिल जोस ट्रम्पलाई ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा जियाबाट क्याच आउट भएका थिए ।

गुलशन झा १८ बलमा ३ चौकासहित २० रनमा आउट भए । सन्दीप जोरा १५ बलमा ३ चौकासहित २१ रनमा आउट भए । करण केसी ५ बलमा १ छक्कासहित १० रनमा नट आउट रहे ।

ह्युस्टन हरिकेन्सका उस्मान शिनवारीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । इमरान खान जुनियरले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जोश ट्रम्प, अली शेख र जिया जाहजादले एक/एक विकेट लिए ।

नेपालले दोस्रो खेल शनिबार हरिकेन्ससँग नै खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार