बर्खास्त न्यायाधीश थपलियाको रिटमा सुनुवाइ हुँदै

न्याय परिषद्को कारबाहीमा परेका उच्च अदालतका न्यायाधीश नवराज थपलियाले पुनर्बहालीका लागि दायर गरेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा चलिरहेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ भइरहेको हो ।

न्याय परिषद्को गत फागुन १३ गतेको बैठकले न्यायाधीश थपलियालाई खराब आचरणको आरोपमा बर्खास्तगीका लागि सिफारिस गरेको थियो । तत्कालै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई बर्खास्त गरेका थिए ।

न्याय परिषद् र प्रधानन्यायाधीशको निर्णय अन्यायपूर्ण दाबी गरी रिट लिएर थपलिया जेठ २ गते सर्वोच्च पुगेका हुन् ।

थपलिया पछिल्लोपल्ट उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए । न्याय परिषद्ले कारबाही अघि बढाएपछि उनलाई परिषद्मा हाजिर गर्ने गरी झिकाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार